७ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रक कार्यालय, विराटनगरमा अखिल (क्रान्तिकारी)ले तालाबन्दी गरेको छ ।
क्रान्तिकारीको विराटनगर महानगर समितिले विभिन्न माग राखेर परीक्षा नियन्त्रक डा.गोविन्द गुरागाईंको कार्यकक्षमा मंगलबार तालाबन्दी गरेको हो । विद्यार्थी संगठनका महानगर अध्यक्ष प्रितम साहका अनुसार कोशी र मधेस प्रदेशका १०६ क्याम्पसमा अध्ययनरत बीबीएस कार्यक्रमका विद्यार्थीहरूको आंशिक मौका परीक्षाको परीक्षा केन्द्र झापा जिल्लास्थित दमक बहुमुखी क्याम्पसमा तोकिएको छ ।
परीक्षा नियन्त्रक कार्यालयको निर्णयका कारण विद्यार्थीहरूलाई लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता उत्पन्न भएको र त्यसप्रति परीक्षा नियन्त्रक कार्यालयले बेवास्ता गरेको भन्दै संगठनले विरोध स्वरूप तालाबन्दी गरेको हो । परीक्षा नियन्त्रक गोविन्द गुरागाईं लामो समयदेखि नियमित रूपमा कार्यालयमा उपस्थित नरहेको आरोप पनि उनीहरूले लगाएका छन् ।