२१ जेठ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजतन्त्र पक्षधर नेताहरूले आन्दोलन रोकेमात्र सुरक्षाकर्मी पाउने बताएका छन ।
आज सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले आन्दोलनमा खटाउन सुरक्षाकर्मी आवश्यक परेकाले फिर्ता बोलाइएको जिकिर गरे । गणतन्त्रविरुद्ध लागेपछि सरकारले जेठ १४ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन सांसदको पीएसओ खोसेको थियो । पीएसओ खोसिएको विषयमा आज समितिको बैठकमा राप्रपाका सांसद बुद्धिमान तामाङले गृहमन्त्रीलाई प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री लेखकले आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई फिर्ता बोलाएर आन्दोलनमा खटाइएको बताए । उनले आन्दोलन रोक्नबित्तिकै पुनः खटाइने पनि बताए ।