२४ जेठ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्रचलित मान्यता विपरीत तथा सेवारत प्राध्यापकहरूको वृत्ति विकासमा असर गर्ने गरी विज्ञापन प्रकाशित गरेको भन्दै प्राध्यापक संगठनहरुले आपत्ति जनाएका छन् ।
प्रेस वक्तव्यमार्फत नेपाल प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ, लोकतान्त्रिकको प्राध्यापक संघ लगायतका विभिन्न ६ संघसंस्थाले त्रिविको विज्ञापनमा दरबन्दी सिफारिस प्रक्रिया पारदर्शी नभएको र मनोगत रूपमा दरबन्दी सिर्जना गरिएको आरोप लगाएका छन् । विज्ञप्तिमा भनिएको छ,‘त्रिभुवन विश्वविद्यालयमा गत ४ वर्षयता प्राध्यापकहरूको आवधिक बढुवाको विज्ञापन भएको छैन । वर्तमान नेतृत्वले प्राकृतिक सिद्धान्त अनुरूप कार्य नगरी घेराबन्दी भित्र रही मनोगत रूपमा दरबन्दी सिर्जना गरेको छ । बर्तमान व्यवस्था रहेको दरबन्दीको पिरामिडलाई बेवास्ता गरिएको छ । कुनै विषयमा बढुवाका निम्ति दरबन्दी सिफारिस गरिएको छैन भने कुनै विषयमा अत्यन्तै न्यून सङ्ख्यामा प्राध्यापक र सहप्राध्यापकको दरबन्दी सिफारिस गरिएको छ । तसर्थ यस किसिमको गैरजिम्मेवार कदमको हामी तीव्र निन्दा र भर्त्सना गर्दछौँ ।’