२६ जेठ, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विद्यार्थीका नाममा तोडफोड, कुटपिट, शिक्षालयमा आगजनी र तालाबन्दी गर्ने खालका हिंसात्मक क्रियाकलापका लागि अनेरास्ववियुका लागि छुट नहुने बताएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको २४ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले संगठनलाई परिवर्तनकारी, सभ्य र जिम्मेवारी संगठनका रूपमा रहन निर्देशन दिए । ‘बाटोमा हिन्दा तपाईँहरूको मित्रतापूर्ण बोली, व्यवहार र आचरणबाट नै अनेरास्ववियु हो भनेर अरूले चिनोस । म अखिल हो भन्दै कार्ड देखाएर धम्क्याउने व्यवहार हामीबाट हुनु हुँदैन ।’, उनले भने, ‘एमालेप्रति पनि भ्रम फैलाउने र अँध्यारो देखाउने प्रवृत्ति छन । पार्टीभित्र एकता हुनु हुँदैन । चुनावबाटै नेतृत्व चयन गर्नुपर्छ भनेर भ्रम फैलाउन खोजेका छन । मेरो आग्रह के हो भने हामी एकता, फेरि एकता र सुदृढ एकतामा जान सकेमा हामी हाम्रो लक्ष्यमा प्रभावकारी रुपमा अघि बढ्न सक्छौँ । मिल्नै नसक्ने भएमा मित्रतापूर्ण निर्वाचनमा जाने अधिकार त छँदैछ । पार्टीभित्र झ्याम्टा बजाउँदा मात्र लोकतन्त्र हुने, सहमति नहुँदा लोकतन्त्र नहुने खालको भावनामा बग्ने काम हामीले गर्नु हुँदैन ।’
प्रविधिको यस जमानामा सूचना प्रविधिसँग अभ्यस्त भएर युवा विद्यार्थीहरुले एमालेको जनताको बहुदलीय जनवाद र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभिभारा पूरा गराउने अभियानमा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए । विद्यार्थी आन्दोलन र खासगरी अनेरास्ववियुको अगुवाइमा २०३६ सालमा जनमत सङ्ग्रहको घोषणा गर्न बाध्या बनाउने यही संगठन भएको र आफूहरुले नै देशमा साँच्चैको लोकतन्त्र र गणतन्त्र ल्याउन बलिदान गरेको स्मरण गरे ।