२७ जेठ, काठमाडौं । चालू खाता साढे २ खर्बले बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को १० महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक हेर्दा चालु खाता २ खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ९३ अर्ब ३१ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ४५ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ८९ करोडले बचतमा रहेको छ ।
यस अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब २६ करोड रहेको थियो । यसैगरी, यस अवधिमा १० अर्ब ६० करोड प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (ईक्विटि मात्र) ७ अर्ब ५ करोड रहेको थियो । चालू आवको दश महिनासम्मको अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ९५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब २३ करोडले बचतमा रहेको छ ।