|  

थुनछेकको बहसका लागि दुर्गा प्रसाईंसहितका आरोपी अदालतमा

२७ जेठ, काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनामा संलग्न भनिएका प्रतिवादीहरूलाई थुनछेकको बहसका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

गत जेठ १२ गतेदेखि न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा प्रसाईंसहितका ५० जना प्रतिवादीहरूको बयान थालिएको थियो। बयान सकिएसँगै उनीहरूको थुनछेक बहस अघि बढेको हो । यस प्रकरणमा प्रसाईं एक्लैलाई ५ वटा अभियोगमा मुद्दा चलाइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा लैजाने क्रममा प्रतिवादीहरूविरुद्ध राजद्रोह, अपराधिक उपद्रव, कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराध कसुर लगाएको छ ।

यो मुद्दाका लागि जिल्ला प्रहरी परिसर काठमाडौं कार्यरत प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्की, प्रहरी निरीक्षक वाङ्गेल लामा , प्रहरी निरीक्षक पप्पु कुमार दास, प्रहरी वरिष्ठ नायव निरीक्षक विष्णु खतिवडा,प्रहरी वरिष्ठ नायव निरीक्षक विजय शाही, प्रहरी नायव निरीक्षक अर्जुन सेठ्ठी, प्रहरी वरिष्ठ हवलदार विष्णु सापकोटा समेतको जाहेरी परेको थियो ।

उता कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न ११ जनाको बयान र थुनछेक बहस न्यायाधीश पदमराज पाण्डेको इजलासमा अघि बढ्नेछ । ती ११ जनालाई सरकारी वकिलले आपराधिक उपद्रव कसुर अभियोगमा मुद्दा चलाएको छ।