२७ जेठ, काठमाडौं । सरकारले गैरआवासीय नेपाली नागरिकतासम्बन्धी छुट्टै विधेयक ल्याउने भएको छ।
मंगलबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले एनआरएन नागरितासम्बन्धी छुट्टै ऐन निर्माण गर्ने र नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार उपभोग गर्न पाउने व्यवस्था गरिने बताए।
परराष्ट्र मन्त्रालयको नेतृत्वमा ऐन निर्माण भइरहेको उनको भनाइ थियो।
गृहमन्त्री लेखकले गोरखा सैनिकका समस्या समाधान गर्नको लागि नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न लागिएकोसमेत बताए।
उनले गोरखा सैनिकका मागहरुको सन्दर्भमा अझै छलफल र बहस गर्न जरुरी रहेकोसमेत बताए। उनले गोरखा सैनिकहरुले उठाएको माग ऐनसँग नभइ संविधानसँग नै सम्बन्धित रहेको बताए।
उनले ऐनकै कारण गोर्खा सैनिकका समस्या समाधान हुनेमा सांसदहरुको बीचमा एकमत नभएका कारण संविधान नै हेर्नुपर्नेमा उनको जोड छ।