|  

दुई विभागीय टोली पुलिस र एपिएफ फाइनल खेल्दै

३१ जेठ, काठमाडाैं । दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब आज प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनल खेल्दै छन् ।

पछिल्लो समय केहि लय गुमाएको एपिएफले शुक्रवार पोखरा रंगशालास्थित कभर्ड हलमा भएको सेमिफाइनलमा टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबलाई‌ ३-० को सोझो सेटमा हराउँदै पुलिससँगको भेट पक्का गरेको हो । समूह चरणमा गण्डकी प्रदेश र एभरेष्ट भलिबल क्लबमाथि सहज जितका‌ निकाल्दै अघि बढेको न्यु डायमण्डले एपिएफसँग त्यो लयलाई कायम राख्न सकेन । एपिएफसँगको पहिलो सेट २५-१७ ले गुमाएको थियो । दोस्रो सेटमा पुनरागमन गर्ने प्रयास गरेपनि‌ सफल भएन । दोस्रो सेटमा  २४-२५ को स्थितिसम्म थियो । त्यसमा स्कोर गर्दै एपिएफले २६-२४ ले सेट जित्यो । तेस्रो सेट २५-१९ ले आफ्नो पक्षमा पार्दै एपिएफले अन्तिम दुईको यात्रा तय गर्यो ।

त्यसअघि एभरेष्टलाई ३-० सोझो सेटमा पराजित गर्दै पुलिस फाइनलमा पुगेको थियो । दुई साता मा पुलिससँग दोस्रो उपाधि जित्ने अवसर छ‌ । जेठ १५ गते सोही कभर्ड हलमा न्यु डायमण्डलाई‌ हराउँदै पुलिसले नवौं पिएम कप एनभिए भलिबल लिगको उपाधि जितेको थियो । हिजो एभरेष्टले पुलिसलाई कुनै पनि सेटमा चुनौती दिन सकेन। पुलिसले २५-१६, २५-१३,२५-११ ले खेल जितेको थियो । न्यु डायमण्ड र एभरेष्टबीचको तेस्रो स्थानको खेल दिउँसो १ बजे र दुई विभागीय टोलीबीचको फाइनल दिउँसो ३ बजे सुरु हुने बताइएको छ ।