३१ जेठ, काठमाडौं । सम्पादकहरूको समूहले पत्रकार दिलभूषण पाठकविरुद्ध जारी भएको पक्राउ पुर्जी खारेज गर्न माग गरेको छ ।
३५ जना सम्पादकहरूले शनिबार एक साझा विज्ञप्ति जारी गरी विचार तथा अभिव्यक्ति स्वतन्त्रता जोडिएका विषयमा तत्सम्बन्धी कानुनले गरेको व्यवस्था पालना गर्न राज्यको ध्यानाकर्षण गराउँदै पाठकविरुद्धको पक्राउ पुर्जी खारेज गर्न माग गरेका हुन् ।
“फरक उद्देश्यका लागि बनेको कानुनका दफा दुरुपयोग गरी सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्न खोज्नु खेदजनक हो,” विज्ञप्तिमा भनिएको छ, “यसअघि पनि कानुनको यस्तो दुरुपयोग हुँदै आएको छ ।”
पत्रकारले प्रकाशन वा प्रसारण गरेका हरेक सामग्रीको जवाफदेहिता व्यहोर्नुपर्नेमा पनि आफूहरू प्रस्ट रहेको सम्पादकहरूले उल्लेख गरेका छन् ।
“यसर्थ, विचार तथा अभिव्यक्ति स्वतन्त्रता जोडिएका विषयमा तत्सम्बन्धी कानुनले गरेको व्यवस्था पालना गर्न राज्यको ध्यानाकर्षण गराउँदै हामी दिलभूषण पाठकविरुद्धको पक्राउ पुर्जी खारेज गर्न माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।