|  

प्रचण्ड कप महिला भलिबल : एपीएफ च्याम्पियन, पुलिस उपविजेता

०१ असार, काठमाडौँ । पोखरामा सञ्चालन भएको ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल नेपालको एपीएफ क्लबले जितेको छ ।

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज सम्पन्न फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-० को सोझो सेटमा निराश पार्दै एपीएफ च्याम्पियन बन्यो । एपीएफले पुलिसलाई २५-१९, २५-२० र २५-१३ को अङ्कमा हराउन सफल भयो । योसँगै प्रतियोगिताको उद्घाटन खेलमा पुलिससँग बेहोरेको हारको बदलासमेत एपीएफले फाइनलमा लिएको छ । च्याम्पियन बनेको एपीएफले ६ लाखसहित ट्रफी पुरस्कार प्राप्त गर्दा उपविजेता पुलिसले ३ लाख पुरस्कारमा चित्त बुझायो ।
यसैगरी, प्रतियोगितमा टिप टप न्यू डायमन्ड क्लबले तृतीय बनेर एक लाख पुरस्कार पायो । डायमन्डले आज नै भएको तृतीय स्थानको खेलमा एभरेष्ट भलिबल क्लबलाई २५-८, २५-१९ र २५-११ को सेटमा हराएको हो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी एपीएफकी निरुता ठगुन्ना घोषित हुँदै ३० हजार पुरस्कार पाइन् ।

यही जेठ २७ देखि सुरु भएको प्रतियोगितामा छ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । नेपाल स्पोर्टस् एकेडेमीले गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) का नाममा पहिलो पटक महिला भलिबल प्रतियोगिता गरेको हो ।