१ जेठ,काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र चोरी निकासी रोक्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको वन मन्त्रालयको ब्रिफिङका क्रममा ओलीले अहिले पनि केही जिल्लाहरूमा वन फडानी र चोरी भइरहेको जानकारीमा आएकाले कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।
ब्रिफिङमा वनमन्त्री ऐनबहादुर शाही, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसिया, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, वन मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रसहितको सहभागीता थियो ।
छलफलमा ओलीले वन मन्त्रालयबाट दिइने वातावरणीय परीक्षण मूल्याङ्कन (इआइए) को स्वीकृतिमा ढिलाइ हुँदा कतिपय आयोजनाको अवधि सकिए सञ्चालन अनुमति सकिने र धरौटी जफत हुने समस्यालाई ध्यान दिएर कानुनमा हुनुपर्ने संशोधनको प्रस्ताव ल्याउन आग्रह गरे ।
ब्रिफिङमा मन्त्रालयले तयार गरेको ‘नेपाल सवारी प्रदूषण मापदण्ड, २०८२’ को मस्यौदाबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो ।