|  

 रास्वपा अहिले बादलभित्र उडिरहेको काग जस्तो छः योगेश भट्टराई

१ जेठ,काठमाडाैं ।  नेकपा एमाले सचिव योगेश भट्टराईले नेतृत्व विहीन हुँदा रास्वपा अलमलिएको बताएका छन् ।

संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै भट्टराईले रास्वपा एउटा उदयमान पार्टी भएको बताउँदै रास्वपालाई आफूहरूले पनि सम्मान गरेको जिकिर गरेका हुन् । संसद्भित्र रास्वपाको घटना भने नेतृत्वविहीन हुँदाको अवस्था रहेको बताए । पार्टी नेतृत्वविहीन हुँदा अन्योलमा रहेको स्पष्ट भएको संसदीय घटनाक्रमले देखाएको उनको भनाई थियो ।

उनले भने, ‘रास्वपा एउटा उदयमान पार्टीको रूपमा आएको छ । हामीले उहाँहरूलाई सम्मान गरेका छौँ । युवा साथीहरू हुनुहुन्छ । पढेलेखेको हुनुहुन्छ ।अस्तिको घटना र आजको पनि घटनाले संसद्भित्र रास्वपा नेतृत्व विहीन अवस्थामा छ । रास्वपा नेतृत्व विहीन छ । जब पार्टी नेतृत्व विहीन हुन्छ, त्यो अन्योलमा पर्छ । रास्वपा अहिले बादलभित्र उडिरहेको काग जस्तो छ । उद्देश्य र गन्तव्यविहीन अवस्थामा उहाँहरू अवरोधमा सामेल हुनुहुन्छ ।’