२ असार, काठमाडौं । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला इजराइलमै अड्किएका छन् ।
सहकारी अभ्यासबारे अध्ययन गर्न भन्दै इजराइल पुगेका कोइराला इजरायल–इरानबीच युद्ध चर्किएपछि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएकाले उतै अड्किएका हुन् । युद्ध चर्किएका कारण खतराको संकेत स्वरुप साइरन बज्नासाथ बंकरमा लुक्ने गरेको कोइरालाले बताएका छन् ।
उनी नेपालबाट जाने एक्लो जनप्रतिनिधि हुन् । मेयर कोइरालाले आफू ‘सेफाइम’ भन्ने स्थानमा सुरक्षित रहेको जानकारी दिएका छन् । यो सहर राजधानीबाट ३० किलोमिटर दुरीमा छ । कोइराला जुन महिनाको २० तारिखमा नेपाल फर्कने कार्यक्रम छ । तर इरानसँगको तनाव बढेपछि विमानस्थल बन्द छन् ।
विमानस्थल बन्द भएका कारण उनको नेपाल फिर्ती अनिश्चित बनेको छ ।आफूलाई भेट्न इसराइलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित दुईपटक आइसकेको जानकारी दिँदै कोइरालाले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि कुराकानी भएको बताएका छन्।