५ असार, काठमाडौं । दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता लागेको छ ।
चिनियाँ विज्ञ टोलीले नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस रहेको भनेर प्रारम्भिक रिपोर्ट दिएको हो । चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ गतेदेखि ड्रिलिङ अर्थात् जमिन खनेर अध्ययन थालेका थिए । त्यसका लागि ४ हजार मिटर गहिराइसम्म खनिएको थियो ।
त्यतिबेला जमिन मुनिबाट ग्याँसको गन्ध आएको थियो । तर ग्याँसको मात्रा र गुणस्तर लगायतका थप परीक्षणका लागि चट्टानका नमूना संकलन गरी चीन लगिएको थियो ।अहिले हामीलाई प्रारम्भिक रुपमा जुन रिपोर्ट प्राप्त भएको छ, त्यसमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस छ भन्ने पुष्टि भएको छ’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भने, ‘यो मिथेन ग्याँस हो भन्ने छ ।’
मिथेन ग्याँस पेट्रोल–डिजेलको विकल्पमा स्वच्छ इन्धन मानिन्छ । ‘मिथेन ग्याँसबाट गाडी चलाउन, बिजुली उत्पादन गर्न र घरायसी प्रयोजनमा बत्ती बाल्न, हाइड्रोजन छुट्टाएर अमोनिया ग्याँस निकालेर मल कारखानामा पनि प्रयोग गर्न सकिन्छ । दैलेखका विभिन्न स्थानहरुमा आगोको ज्वाला बल्ने गरेको छ । स्थानीयले दैवी शक्ति भन्दै पूजा गर्दै आएका छन् । तर विज्ञहरुले जमिन मुनि प्रज्ज्वलनशील ग्याँस भएको र त्यही बाहिर निस्किएर आगो बलेको पुष्टि गरेका छन् ।