०७ असार, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले कालो कपडा लगाएर संसद्मा आएर प्रधानमन्त्रीको अपमान गर्न खोजेको आरोप लगाएका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राम्रोसँग समीक्षा गर्न रास्वपालाई आग्रह समेत गरे । आज रास्वपाको स्थापना दिवस रहेको स्मरण गर्दै उनले भनेका छन्, ‘तेस्रो वर्षबाट चौथो वर्ष लागेकोमा शुभकामना दिँदै भट्टराईले भने, ‘उहाँहरूले अरु पार्टीमाथि प्रश्न उठाइरहनुभएको छ । कांग्रेस बिग्रयो, एमाले बिग्रयो । म उहाँहरूलाई भन्न चाहन्छु- हामीलाई बन्न पनि समय लाग्यो । बिग्रेछौं भने पनि समय लाग्छ । तपाईंहरू त छिटो बन्नुभयो, छिट्टै बिग्रँदै हुनुहुन्छ । त्यो ख्याल गर्नुहोला, स्थापना दिवसका अवसरमा त्यो समीक्षा गर्नुहोला ।’
भिजिट भिसा प्रकरणको विषय संसद्मा उठिसकेपछि छलफल गरेको र सहमतिमा पुगेको स्मरण गराए । उनले भिजिट भिसा प्रकरणमा छानबिन गर्ने सहमतिमा दलहरूपुग्दा छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी समेत रहेको र रास्वपाले समयसीमा तय गरौं भनेर प्रस्ताव राखेको उनले बताए । सत्तापक्ष समयसीमा तोक्न समेत तयार भएपछि रास्वपाले छलफलका लागि समय मागेको र पुनः छलफलमा नफर्किएको भट्टराईको टिप्पणी छ । छलफलमा नगएर रास्वपा सिधै संसद्को वेल घेराउमा पुगेको भनेर उनले प्रश्न उठाए । उनले भनेका छन्, ‘अब गर्ने के त ? गर्न के खोज्नुभएको हो ? त्यो हामीले बुझ्न सकेका छैनौं,’ भट्टराईले भने, ‘संसद्प्रति उहाँहरूको विश्वास छैन भने त बेग्लै प्रश्न हो ।’ उनले रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बजेटमाथिको छलफलमा भाग नलिएकोमा दुःख लागेको बताए ।
भिजिट भिसा प्रकरणमा माओवादी केन्द्रसँग भएको २ बुँदे सहमति छिटो कार्यान्वयन गर्न समेत उनले गृहमन्त्री रमेश लेखकलाई आग्रह गरेका छन । यो कार्यान्वयन गर्दा संसद्को अवरोध हटाउन सहयोग पुग्ने उनको विश्वास छ ।