|  

सर्लाहीमा झडप हुँदा प्रहरीसहित १० जना घाइते

०७ असार, काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका-४, खैरवाटोलमा आज बिहान बाटो विस्तारका क्रममा दुई पक्षबीच झडप भएको छ ।

झडपमा परी प्रहरीसहित १० जना घाइते भएका छन । सडक विस्तारका विषयमा विवादपछि ढुंगा हानाहान भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्नाका साथै एक राउन्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता बालिष्टर सिंहले जानकारी दिए । झडपमा संलग्न भएको आरोपमा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ ।

घटनामा प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिवाकर गणेशको दाहिने हातमा चोट लागेको छ । प्रहरी जवान प्रमेश्वर राय यादवको टाउकामा चोट लागेको छ । बरहथवा नगर अस्पतालमा उनीहरूको उपचार भइरहेको छ । यस्तै, बरहथवा नगरपालिका-४, खैरवाका ५० वर्षीय टीकाबहादुर कार्की, ५२ वर्षीय कुलबहादुर कार्की, ३५ वर्षीय सञ्जय कुशवाह, ४२ वर्षीय रमेश महतो, ३८ वर्षीय इन्दु देवी, २६ वर्षीय प्रदीप कुशवाह, २८ वर्षीय अनिल कुशवाह र ३५ वर्षीय उमेश महतो घाइते छन् । घाइतेमध्ये टीकाबहादुर र कुलबहादुरलाई बरहथवामा प्राथमिक उपचारपछि काठमाडौं ‘रेफर’ गरिएको छ । अरू घाइतेको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।