|  

भारतीय राजदूतावासले नेपालका १० सहरमा मनाइयो योग दिवस

७ असार, काठमाडाैं ।  भारतीय राजदूतावासले नेपालका १० सहरमा अन्तर्राष्ट्रिय योग दिवसकाे ११ औँ संस्करण मनाइएको छ ।

काठमाडौँस्थित भारतीय राजदूतावास र वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासले काठमाडौँ, पोखरा, लमजुङ, लुम्बिनी, जनकपुर, चितवन, वीरगन्ज, हेटौँडा, रौतहट र बरियारपुर लगायत नेपालका १० सहर र नगरपालिकाहरूमा विभिन्न कार्यक्रमहरूको आयोजना गरेको हो ।

यस वर्षको ‘एक पृथ्वी, एक स्वास्थ्यको लागि योग’ भन्ने विषयवस्तु अनुरूप अन्तर्राष्ट्रिय योग दिवस २०२५ आउन ७५ दिन अगावै भारतीय राजदूतावासले २०८१ चैत्र २५ गते पशुपतिनाथ मन्दिरमा योग प्रदर्शनसहितको एक शुभारम्भ कार्यक्रमको आयोजना गरेको थियो । भारतीय सेनाका पूर्व सैनिकहरूको सक्रिय सहभागितामा अन्तर्राष्ट्रिय योग दिवस २०२५ आउन ५० दिन अगावै भारतीय राजदूतावासले २०८२ वैशाख १९ गते काठमाडौँस्थित ईसीएचएस पोलिक्लिनिकमा योग सत्र सञ्चालन गरेको थियो । 

त्यस्तै २०८२ जेठ १३ गते काठमाडौँको नेपाली सेना मुख्यालय मैदानमा योग सत्र आयोजना गरिएको थियो जसमा नेपाली सेनाका कर्मचारीहरूले सहभागिता जनाएका थिए । 

भारतीय राजदूतावासले काठमाडौँ उपत्यकाका छ वटा युनेस्को विश्व सम्पदा स्थलहरू क्रमशः पशुपतिनाथ मन्दिर (मिति २०८१ चैत्र २५); काठमाडौँ दरबार स्क्वायर (मिति २०८२ जेठ २३); बौद्धनाथ स्तुपा र स्वयम्भूनाथ स्तुपा (मिति २०८२ जेठ २६); चाँगुनारायण मन्दिर (मिति २०८२ जेठ २७) र  पाटन दरबार स्क्वायर (मिति २०८२ जेठ ३१) मा योग आसन प्रदर्शन आयोजना गरेको थियो । यी कार्यक्रमहरूमा योगमा अभिरुचि राख्नेहरू र भारतीय डायस्पोराका सदस्यहरूको सक्रिय सहभागिता देखिएको थियो । पाटन दरबार स्क्वायरमा आयोजित योग प्रदर्शनमा नेपाली सेलिब्रेटीहरू, स्थानीय अधिकारीहरू, बासिन्दाहरू र भारतीय समुदायका सदस्यहरूको उत्साहजनक सहभागिता थियो । 

त्यस्तै २०८२ जेठ ३० गते काठमाडौँको केन्द्रीय विद्यालयको परिसरमा काठमाडौँका विभिन्न विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा योग सत्र आयोजना गरिएको थियो । परम्परागत भारतीय ज्ञान र समग्र कल्याणमा आधारित सही किसिमको खान्की अँगाल्न विद्यार्थीहरूलाई प्रेरित गर्दै कार्यक्रममा ‘सात्त्विक आहारका फाइदाहरू’ बारे एक अन्तर्दृष्टिपूर्ण व्याख्यानसहितको प्रस्तुति देखाइएको थियो । 

यसका साथै भारतीय राजदूतावासले २०८२ असार १ गते काठमाडौँस्थित अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को मुख्यालयमा योग सत्र आयोजना गर्न इसिमोडसँग साझेदारी गरेको थियो । कार्यक्रममा इसिमोड र काठमाडौँस्थित भारतीय राजदूतावासका अधिकारीहरूको उपस्थिति थियो ।