|  

१६ दिनकी सुत्केरी भाउजूको देवरबाटै हत्या

०८ असार, काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका-७  कैलाशपुरमा शुक्रवार बिहान मृत भेटिएकी १९ वर्षीय सुत्केरी तुलसी नाथको आफ्नै देवरले हत्या गरेको खुलेको छ ।

विगतदेखिको सामान्य विवाद र सुनका गहनाका कारण आफूले भाउजूको हत्या गरेको पक्राउ परेका नवीन नाथले प्रहरीलाई बयान दिएका छन । उनले प्रहरीसमक्ष बयानमा भनेका छन,‘भाउजू सुतेको बेला सिरानीले मुख च्यापेर हत्या गरे, उहाँले कानमा लगाएको गहना निकाले र शव  बाहिर लगेर नालीमा फालिदिए ।’

घटनाको प्रकृति र पक्राउ परेका युवकको बयानका आधारमा उनैले हत्या गरेको प्रारम्भिक ठहर छ । भाउजूको हत्यापछि कानमा लगाएका सुनका गहना निकालेर घर नजिकै ढुङ्गामुनि लुकाएको भन्दै आफ्नो बुवालाई दिएको सूचनाको आधारमा प्रहरीले घटनामा उनको संलग्नता भएको पुष्टि गरेको थियो ।