|  

रुस र चीनले बाइडेनलाई दिएको सन्देशः ती दिन गए

१८ चैत्र, काठमाडौँ । गएको साता पश्चिम, खासगरी अमेरिकासँगको रुसको सम्बन्ध एउटा ऐतिहासिक क्षणबाट गुज्रियो। दुई नाटकीय, टेलिभिजनमा प्रसारित क्षणमा अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई मुलुकबीचको सम्बन्धलाई नै सदाका लागि परिवर्तन गरिदिए।

पहिले एक अन्तर्वार्तामा बाइडेनले पुटिनलाई ‘ज्यानमारा’ भने। त्यसको प्रतिक्रियास्वरुप पुटिनले आफ्ना अमेरिकी समकक्षीको ‘सुस्वास्थ्यको कामना’ गरे। पश्चिमका प्रायः टिप्पणीकारहरुको ध्यान पुटिनले बाइडेनलाई गरेको ‘ट्रोल’ मा केन्द्रित देखियो।

तर, अमेरिकालाई पुटिनले दिएको सन्देशलाई होसियारीपूर्वक र गहिरिएर हेर्ने हो भने त्यसबाट एउटा कुरा स्पष्ट बुझ्न सकिन्छ। पुटिन अमेरिकालाई अन्ततः यो सन्देश दिन तयार भएका छन्– तिम्रो कथित मानकका आधारमा हामीलाई ननाप र के गर्ने भनेर हामीलाई नसिकाऊ।

पुटिनले यो कुरा यति प्रस्टसँग यसअघि कहिल्यै भनेका थिएनन्। जब उनले त्यसो भने, त्यसको केही न केही अर्थ हुन्छ।

 

बाइडेनलाई पुटिनको सन्देश

शक्तिको तनावपूर्ण परीक्षण तब सुरु भयो, जब बाइडेनलाई एबीसी न्युजका जर्ज स्टेफेनोपोलोसले पुटिनबारे प्रश्न गरे। अन्तर्वार्तामा पुटिन ‘ज्यानमारा’ हुन् र उनीसँग आत्मा नामको चिज छैन भन्नेमा बाइडेन सहमत भए। पुटिनले आफ्नो कर्तुतको ‘मूल्य तिर्ने’ पनि बाइडेनले बताए।

बाइडेनलाई जवाफ दिन पुटिनले पनि असाधारण कदम चाले। उनी पाँच मिनेट लामो वक्तव्य लिएर सरकारी प्रसारक भीजीटीआरकेमा प्रस्तुत भए। पुटिनले सो वक्तव्यमा अमेरिकाले आफ्ना आदिवासीहरुमाथि मच्चाएको नरसंहारको स्मरण गरे। त्यस्तै, दास प्रथाको क्रुर अनुभव, काला जातिका मानिसहरुमाथि आज पनि निरन्तर चलिरहेको दमन र दोस्रो विश्वयुद्धमा अमेरिकाले अकारण हिरोसिमा र नागासागीमा आणविक बम खसाएको पनि उनले बताए।

उनले अमेरिकालाई भने– ‘अरुका बारेमा तिमी जे भन्छौ, तिमी आफैँ त्यही हौ।’ केही अमेरिकी पत्रकारहरुले यसलाई ट्रोलका रुपमा चर्चा गरे। तर, यो ट्रोल थिएन।

यो त वर्षौँपछि पुटिनले ‘अमेरिकाको संस्थापन, शासक वर्ग’लाई दिएको सबैभन्दा महत्वपूर्ण सन्देश थियो। ‘उनीहरु ठान्छन्, हामी र उनीहरु एकै हौँ। तर, हामी अलग छौँ। हामीसँग फरक वंशाणु, फरक सांस्कृतिक र नैतिक मान्यता छन्। तर, आफ्नो हितको रक्षा कसरी गर्ने, हामीलाई थाहा छ। हामी उनीहरुसँग मिलेर काम गर्नेछौँ। तर, हाम्रो इच्छा भएका क्षेत्रमा मात्रै र हामीलाई फाइदा हुने सर्तमा मात्रै। यसलाई उनीहरुले मान्नुपर्ने हुन्छ। हाम्रो विकासलाई रोक्ने तमाम प्रयासका बाबजूद उनीहरुले यो कुरा स्वीकार्नुपर्ने हुन्छ। नाकाबन्दी, बेइज्जतीका बाबजूद उनीहरुले यो स्वीकार्नुपर्ने हुन्छ।’

पुटिनका लागि यो नयाँ कुरा हो। वर्षौँदेखि उनले विनम्रतापूर्वक भन्दै आएका थिए– यदि पश्चिमा शक्तिहरु तनाव कम गर्न चाहन्छन् भने रुससँग उनीहरुले उचित कूटनीतिक प्रोटोकल र राष्ट्रिय सार्वभौमसत्ताप्रति आपसी सम्मानका साथ कुराकानी गर्नुपर्ने हुन्छ।

तर, यति स्पष्ट रुपमा उनी कहिल्यै प्रस्तुत भएका थिएनन्। उनको भनाइको निहितार्थ हो– तिमीले भनेको विश्वव्यापी मानकको आधारमा हामीलाई नाप्ने र दण्डित गर्ने हिम्मत नगर। किनभने हामी तिमीहरुभन्दा अलग हौँ। ती दिन गए।

 

चीन पनि धकेल्दैछ

पुटिनको वक्तव्य वरिष्ठ चिनियाँ कूटनीतिज्ञहरुले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई दिएको अडानयुक्त जवाफसँग मिल्दोजुल्दो छ।

गतसाता अलास्कामा अमेरिकी र चिनियाँ कूटनीतिज्ञबीच वार्ता भएको थियो। सुरुवातमा विदेशमन्त्री ब्लिंकेनले चीनको बढ्दो सर्वसत्तावाद र आक्रमकताको चर्को विरोध गरे। तिब्बत, सिन्जियाङ, हङकङ र दक्षिण चीन सागरको कुरा उठाए। उनको दाबी थियो– चीनको गतिविधिले ‘विश्वलाई स्थायित्व दिने नियममा आधारित व्यवस्थामाथि खतरा पैदा’ गरेको छ।

जवाफमा चिनियाँ कम्युनिस्ट पार्टीको विदेश मामिला प्रमुख याङ जेइचीले अमेरिकाको पाखण्डीपनको भर्त्सना गरे।

‘आफू बलियो ठाउँमा बसेर चीनविरुद्ध बोल्न सक्ने योग्यता अमेरिकासँग छैन। आफ्नो क्षेत्राधिकारभन्दा बाहिर जान तथा अन्य मुलुकलाई दमन गर्न अमेरिकाले सैन्य शक्ति र वित्तीय प्रभुत्वको दुरुपयोग गर्ने गर्छ,’ उनले भने, ‘सामान्य व्यापारिक गतिविधिलाई अवरोध गर्नदेखि लिएर केही मुलुकलाई चीनमाथि आक्रमण गर्न बाध्य पार्न समेत अमेरिकाले राष्ट्रिय सुरक्षाको अवधारणाको दुरुपयोग गर्छ।’

आफ्नो मुलुकमा अति धेरै असन्तोष र मानवअधिकारसम्बन्धी समस्या हुँदाहुँदै अन्य मुलुकमाथि आफ्नो शैलीको लोकतन्त्र लाद्ने अधिकार अमेरिकासँग नभएको उनको भनाइ थियो।

 

नजिक हुँदैछन् रुस र चीन

दुई घटनाले पुटिनको वक्तव्यको तौल अझ बढायो। पहिलो– रुसले अमेरिकाबाट आफ्नो राजदूतलाई फिर्ता बोलायो। दोस्रो– रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले चिनियाँ समकक्षी वाङ यीसँग भेट गरे।

वाङ र लाभ्रोभको बैठकमा पश्चिमा प्रतिबन्धका विरुद्ध मिलेर खडा हुन बेइजिङ र मस्को सहमत भए। त्यस्तै, अन्तर्राष्ट्रिय व्यापारमा अमेरिकी डलरमाथि रहँदै आएको निर्भरता घटाउन सम्बन्ध प्रगाढ बनाउने सहमति पनि उनीहरुले गरे।

लाभ्रोभले भने– हामी के विश्वास गर्छौँ भने अमेरिकाले अस्थिरता निम्त्याउने भूमिका खेलिरहेको छ। अमेरिका शीतयुद्धकालीन सैन्य गठबन्धनमा निर्भर छ र ऊ अहिले विश्व व्यवस्थालाई भंग गर्न नयाँ गठबन्धन कायम गर्न प्रयासरत छ।   

पुटिनबारे बाइडेनको गैरकूटनीतिक भनाइ बिनातयारी बोलिएको हुनसक्छ। तर, त्यसको असर भने उत्तिकै परिसकेको छ। यसलाई अलास्काको अमेरिका–चीन वार्ताको चर्को भनाभनसँग जोडेर हेर्दा के स्पष्ट हुन्छ भने अमेरिका–चीन–रुस सम्बन्धको वातावरणमा निकै ठूलो परिवर्तन आएको छ।

व्यवहारमा यसको अर्थ के हुन्छ? रुस र चीन दुवैले संकेत गरेका छन्– आफूलाई सजिलो हुनेगरी मात्रै उनीहरु पश्चिमसँग सम्बन्ध राख्नेछन्। नाकाबन्दीप्रति उनीहरुलाई अब कुनै डर छैन।

त्यसमाथि यी दुई शक्तिले देखाइरहेका छन्– अहिलेसम्म सैन्य गठबन्धन नबनाए पनि उनीहरु निकट साझेदारका रुपमा आपसमा मिलेर काम गर्न सहज छन्। आपसी हितका विषयमा उनीहरुले सहकार्यको स्तर बढाउने छन्। त्यस्तै पश्चिमाहरुको वर्चस्व रहेको व्यापार र भुक्तानी प्रणालीको विकल्प विकास गर्न पनि प्रयास गर्नेछन्। 

मस्को र बेइजिङको नेतृत्वमा रहेको यो वैकल्पिक अन्तर्राष्ट्रिय व्यवस्थालाई एसिया र अन्यत्रका मुलुकहरुले नजिकैबाट नियालिरहेका छन्। त्यसमाथि उनीहरु अमेरिकाको आर्थिक र राजनीतिक क्षयीकरणको संकेत पनि देखिरहेका छन्।

यो नयाँ खालको शीतयुद्ध हो। तर, यो पहिलोजस्तो विचारधारामा आधारित छैन। यो अन्तर्राष्ट्रिय वैधताका लागि भइरहेको युद्ध हो। अमेरिका वा नेटोमा संगठित नभएका विश्वको निकै ठूलो हिस्साका लागि यो मन, मुटु र पैसाको संघर्ष हो।

अमेरिका र उसका सहयोगी मुलुक आफूले तयार गरेकै भाष्यअनुसार अघि बढ्नेछन्। अर्कोतिर रुस र चीनले त्यसको प्रतिद्वन्द्वी कथ्य अघि बढाउने छन्। गएको केही दिनमा महशक्तिहरुको बीचको कूटनीतिबाट यो कुरा अत्यन्त स्पष्ट भइसकेको छ।

विश्वमा शक्ति सन्तुलन बदलिँदैछ। र, थुपै मुलुकका लागि रुस र चीनको पक्षमा दाउ लगाउनु फलदायी हुनसक्छ।