|  

भोलि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै

२० चैत, काठमाडौं । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । नेकपा माओवादी केन्द्रले भोलि शनिबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो ।

शीर्ष नेताको बैठक बसेर समर्थन फिर्ता लिनेबारे टुंगोमा पुगिने सरकारका प्रवक्ता श्रेष्ठको भनाइ छ । समर्थन फिर्ता लिने विषयमा आज शुक्रबार बिहान पनि एक चरण छलफल भएको थियो । तर, दिउँसो भने छलफल हुन सकेन । 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठबन्धनको विषयमा जसरी पनि निर्णय हुनुपर्ने अडान लिएका छन् । केन्द्रीय कमिटी बैठकअघि शुक्रबार सानेपामा भएको शीर्ष नेताहरूबीचको छलफलमा पौडेलले आफूले माओवादी केन्द्रले समर्थन फिर्ता लिने जानकारी पाएको बताउँदै सत्ता गठबन्धनको विषयमा जसरी पनि आजकै बैठकमा निर्णय हुनुपर्ने अडान लिएका हुन् ।

‘माओवादीले भोलि सरकारको समर्थन फिर्ता लिने जानकारी पाएको छु’, पौडेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘जुनसुकै हालतमा सरकार गठबन्धनको विषयमा आजकै बैठकमा निर्णय हुनुपर्छ ।’

सत्ता समीकरणका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजावादीका नेता डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए ।

सम्भवत माओवादीले समर्थन फिर्ता लिने हुनाले कांग्रेसले आज आफ्नो निर्णय गर्नुपर्ने छ । कांग्रेसभित्रकै रामचन्द्र पौडेल र शेर बहादुर देउवाबीचको दुई पक्षीय कुराले गर्दा बैठक सुरु हुन नसकेको हो ।