|  

चिनिँया कम्पनी सीआरसीसीको लापर्वाहीले सिङ्गो बस्ती नै जोखिममा 

२२ चैत, काठमाडौं । चिनिँया निर्माण कम्पनी चाइना रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सीआरसीसी) को लापर्वाहीका कारण सिंगो गाउँ नै जोखिममा परेको छ ।

चीन जोड्ने कोदारी सडक निर्माणको जिम्मा पाएको चिनिँया कम्पनीले प्राविधिक विषयलाई वेवास्ता गरी जथाभावी डोजर चलाउँदा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २ स्थित एउटा सिङ्गो बस्ती नै जोखिममा परेको हो ।

जिटुजी सम्झौता अन्तर्गत उक्त सडक निर्माणको जिम्मा सिआरसीसीले पाएको हो। कम्पनीले जथाभावी डोजर चलाउँदा वर्षाको समयमा जमिन भासिने र बग्ने समस्या सुरु भएकोले बस्ती नै जोखिममा परेको स्थानीयले बताएका छन् ।

कतिपय स्थानीय त त्रासले विस्थापित नै भइसकेका छन् । २६ किलोमिटर सडक बनाउने जिम्मा पाएको सो कम्पनीले कालोपत्रे गर्दा पनि लापर्वाही गरेको स्थानीयले बताएका छन् ।

सडकमा गरिएको कालोपत्रे नै बर्षाका कारण बगेको स्थानीयले बताएका छन् । स्थानीयले जनप्रतिनिधीले अनुगमन नगर्दा पनि लापर्वाही भएको आरोप लगाएका हुन् ।

सीआरसीसीका प्रतिनिधिले भने आफुहरुले सडक निर्माणका काम जिम्मा लिएर गल्ति गरेको आसयमा पछुतो गर्दै सरकारले काम छोड्न पत्र पठाए आफुहरु हट्ने बताए ।