|  

सेयर बजार हालसम्मकै उच्च विन्दुमा

२२ चैत, काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेप्से उकालो लागेको छ । आइतबार नेप्सेले उच्च भोल्यूमसहित नयाँ अलटाइम हाइ रेकर्ड बनाएको छ। यस दिन नेप्से परिसूचक २५.७१ अंक बढेर २६५७.६१ विन्दुमा पुगेको हो। यो विन्दु हालसम्मकै उच्च बन्द विन्दु हो।

यस दिन सेन्सेटिभ इण्डेक्स ४.३३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंक बढेको छ। यस दिन नेप्सेमा २१२ कम्पनीको ८९ हजार ८६० पटकको कारोबारमा ९ अर्ब ६८ लाख ५८ हजार रुपैयाँ बराबरको १ करोड ८१ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस अघि नेप्सेले गत फागुन ९ गते अलटाइम हाइ रेकर्ड बनाएको थियो। सो दिन नेप्से २६४०.३५ विन्दुमा बन्द भएको थियो। नेप्सेको वृद्धिलाई यस दिन कारोबार रकमले पनि साथ दिएकोले लगानीकर्ताहरु उत्साहित भएका छन्। कारोबार रकम सहितको परिसूचक वृद्धिलाई बलियो वृद्धिको रुपमा लिइन्छ।