|  

फोटोनले बजारमा पठायो १ करोड युनिट गाडी

२३ चैत्र, काठमाडौँ । चीनकै सबैभन्दा ठूलो कमर्सियल भेहिकल ब्रान्ड फोटोन मोटरले १ करोड गाडी बजारमा पठाएको छ । फोटोन मोटरले स्थापना भएको २५ वर्षमै १ करोड गाडी उत्पादन गर्न सफल भएको हो । 

१ करोड गाडी उत्पादन गरेको अवसरमा फोटोन डेमलर अटोमोटिभले चीनमा नयाँ अमान ग्यालेक्सी ट्रक सार्वजनिक गरेको छ, जसलाई कम्पनीले ‘प्राविधिक सुन्दरता र गतिशीलताको सम्मिश्रण’ भनी व्याख्या गरिएको छ । 

फोटोनले गएको मार्च महिना मात्रै १ लाख १ हजार १ सय ६६ वटा गाडी बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ५९ प्रतिशत बढी हो । विश्वको सबैभन्दा ठूलो ‘लजिस्टिक्स मार्केट’को नेतृत्व लिने लक्ष्यका साथ फोटोनको स्थापना सन् १९९६ को अगस्टमा भएको थियो ।

लगत्तै फोटोनले विश्वकै लोकप्रिय अटोमोबाइल क्षेत्रका कम्पनीहरू कमिन्ज, डेमलर ग्रुप र जेडएफसँग नीतिगत साझेदारी गरेको थियो । नयाँ आविष्कार र उत्कृष्टताका लागि फोटोनले चीन, जर्मनी जापानमा रिसर्च एन्ड डेभलपमेन्ट सेन्टरहरू स्थापना गरेको छ । जहाँ ४० भन्दा बढी मुलुकका ६ हजार ५ सय इन्जिनियरले ५ हजारभन्दा बढी प्याटेन्ड निर्माण गरिसकेका छन् । 

फोटोनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई १ सय १० देशमा उपलब्ध छन् । नेपालमा एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले फोटोनका पिकअप, भ्यान र एम्बुलेन्सको बिक्री वितरण गर्दै आएको छ ।