|  

चिकित्सा शिक्षामा भर्नाका लागि अनलाइन आवेदन शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

२४ चैत, काठमाडौं । चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरूमा भर्नाका लागि लिइने एकीकृत परीक्षाको अनलाइन आवेदन फारम शुल्क खल्ती डिजिटल मोबाइल वालेटबाट भुक्तानी गर्न सकिने भएको छ ।

चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बीडीएस, बीएससी नर्सिङ, बीपीएस, बी फर्मा, बी अप्टोमेट्री, बीपीटी, बीएनएसलगायत शैक्षिक कार्यक्रममा भर्नाका लागि आवेदन आह्वान गरेको छ ।

ती विषयमा भर्नाका लागि प्रवेश परीक्षामा सहभागी हुन आयोगको वेबसाइटमा चैत ९ देखि वैशाख  १२ गतेसम्म अनलाइनबाटै आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनोट गर्न सकिनेछ ।

खल्ती छनोट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लग–इन गरेपछि तोकिएको शुल्क भुक्तानी खल्तीबाट गर्न सकिन्छ । खल्तीमा भुक्तानीपछि चिकित्सा शिक्षा आयोगको वेबसाइटमा गई ट्रान्ज्याक्सन आईडीको अन्तिमको ६ अंक राखी बाँकी फारम भर्न सकिने खल्तीले जनाएको छ ।