|  

नेप्सेमा सामान्य गिरावट, ७ अर्ब माथिको कारोबार

२५ चैत, काठमाडौं । आज सेयर बजारमा झिनो अंकको गिरावट आएको हो ।विगत केहि दिनदेखि निरन्तर उकालो यात्रा तय गरेको बजारमा आज थोरै गिरावट देखिएको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक २.८९ अंकले घटेर २६७१.६१ को बिन्दुमा पुगेको छ ।

१ करोड ६३ लाख ६६ हजार ४ सय ७२ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १४ करोड ९० लाख ४८ हजार २ सय ९ रुपैयाँ बराबरको कारोबार भयो । बुधबार बैंकिङ, विकास बैंक, होटल एन्ड टुरिजम, माइक्रोफाइनान्स र म्युचुअल फन्ड हरियो देखिँदा अन्य समूहमा गिरावट आयो ।

बुधवार महिला लघुवित्त, चन्द्रागिरि हिल्स, एनआईसी एसिया लघुवित्त, रिलायन्स फाइनान्स र युनिभर्सल पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोवार हुँदा रेयरिङ हाइड्रो, युनाइटेड इदी मर्दी हाइड्रो, सानिमा जेनरल इन्स्योरेन्स, एसटीसी लगायतका कम्पनीका लगानी कर्ताले सबैभन्दा धेरै गुमाए ।

बुधबार पनि लगानीकर्ताको रोजाइमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्रा रह्यो । टर्नओभरमा निफ्रापछि चिलिमे हाइड्रो र छिमेक लघुवित्त रहे । निफ्रा र चिलिमे दुवैको शेयरमा बुधवार गिरावट आयो ।