|  

शुक्रबार सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड हुँदै

२५ चैत, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडको आर्ईपीओ आउँदो शुक्रबार अर्थात् चैत २७ गते बाँडफाँड हुने भएको छ । कम्पनीले चैत्र ६ गते, शुक्रबारदेखि चैत्र १० गते, मंगलबारसम्म निष्काशन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) चैत्र २७ गते शुक्रबार बाँडफाँड हुने भएको हो । 

उक्त आईपीओको प्रि अलोटमेन्ट आज (बुधबार) हुँदैछ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १६ लाख ३५ हजार ५ सय ३७ जना आवेदकबाट २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ  बराबरको २ करोड ४६ लाख ६५ हजार ६ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि निष्कासन गरिएको भन्दा ९ दशमलव ३४ गुणा बढी हो  ।  

मागभन्दा धेरै आवेदन परेको हुनाले उक्त आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । ग्रोलाप्रथाबाट वितरण गर्दा २ लाख ६४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकी १३ लाख ७१ हजार ५ सय ३७ जनाको हात खाली हुनेछ  ।
 
कम्पनीले  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २९ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता सामूहिक लगानी कोषका लागि, २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीहरुका लागि र बाँकी २६ लाख ९७ हजार कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको छ ।