|  

म्यानमारका नागरिकको जीवन रक्षाको माग गर्दै मैनबत्ती लिएर प्रदर्शन 

२६ चैत, काठमाडौं । म्यानमारमा सेनाले गरिरहेको नरसंहारको विरोध र म्यानमारका नागरिकको जीवन रक्षाको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले काठमाडौंमा मैनबत्ती बालेर प्रदर्शन गरेको छ ।

बुधबार साँझ काठमाडौंको बौद्धनाथ स्तुपा अगाडि समाजले प्रदर्शन गरेको हो । साँझ साढे ६ बजेदेखि ७ बजेसम्म प्रदर्शन गरिएको हो । प्रदर्शनमा सहभागीहरुले आँखा र निधारमा कालोपट्टी बाँधी बालिएको मैनबत्ती बोकेका थिए ।

प्रदर्शनमा सहभागीहरुले ‘बर्मा नागरिकको जीवन रक्षा गर’, शान्ति ‘बहाली गर’, ‘लोकतन्त्र बहाली गर’, ‘मानवता विरुद्धको अपराध अन्त्य गर’, ‘मानव अधिकार उल्लंघन बन्द गर’, लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, पूर्वसभापति होमकान्त चौलागाई, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनीलगायत सहभागी थिए ।