|  

श्रीमतीको हत्या गरी भागेका श्रीमान युएईबाट पक्राउ

३१ चैत, काठमाडौं । श्रीमतीको हत्या गरी फरार भएका व्यक्ति युएईबाट पक्राउ परेका छन् । तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्लेका काजीमान पुरीलाई प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको टोलीले युएईबाट पक्राउ गरेको हो ।

ईन्टरपोलबाट रेड नोटिस जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पुरीलाई नेपाल प्रहरीले दुवई नै पुगेर पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

२०७६ मा श्रीमतको हत्या गरी फरार रहेका काजीमानलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरीको नेसनल सेन्ट्रल ब्यूरो काठमाडौंको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरेर उनको खोजी गरेको थियो ।

खोजी गर्ने क्रममा ईन्टरपोल आवुदावी यूएईको समन्वयमा प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिएको प्रहरीले उनलाई यूएईबाट पक्राउ गरेको हो । पक्राउ परेका पुरीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तेह्रथुम पठाइएको प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले जनाएको छ ।