|  

यस्तो बन्यो च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण

३ वैशाख, काठमाडौँ । जारी सिजनको च्याम्पियन्स लिगको क्वार्टरफाइनलका सबै खेल सम्पन्न भएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ।


आठ टिम सम्मिलित क्वार्टरफाइनलबाट बायर्न, पोर्टो, लिभरपुल र बोरुसिया डर्टमन्ड बाहिरिँदा उनीहरूलाई पराजित गर्दै क्रमशः पीएसजी, चेल्सी, रियल मड्रिड र म्यानचेस्टर सिटी अन्तिम चारमा प्रवेश गरेका हुन्।

अब फाइनल प्रवेशका लागि स्पेनिस क्लब रियल मड्रिडले इंग्लिस क्लब चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै फ्रेन्च क्लब पीएसजीले प्रिमियर क्लब सिटीको सामना गर्नेछ। अब सेमिफाइनल खेल अप्रिल २७ मा पहिलो लेगको खेल हुनेछन् भने दोस्रोे लेगको खेल मे चारमा हुनेछन्।


रियलसँग लिभरपुल पराजित

क्वार्टरफाइनलको बुधबार राति सम्पन्न खेलमा लिभरपुललाई ३–१ गोलले पछि पार्दै रियल मड्रिड शीर्ष चारमा पुगेको हो। रियलको मैदानमा भएको खेलमा ३–१ गोलको जित घरेलु टिमले निकालेको थियो। तर, गएराति एनफिल्डमा भएको खेलमा दुवै टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा रोकियो।
यसकारण पहिलो लेगको नतिजा नै अन्तिम नतिजा बन्यो।


सिटीसँग डर्टमन्ड पराजित

जर्मन क्लब बोरुसिया डर्टमन्डले म्यानचेस्टर सिटीसँग दुवै खेलमा समान २–१ र २–१ गोलको हारसँँगै समग्रमा ४–२ गोलको हार बेहोरेपछि सिटी अर्को चरणमा प्रवेश गरेको हो।

बुधबार राति वेस्टफलन रंगशालामा भएको खेलमा जुडे बोलिङ्घमले १५ औं मिनेटमा बनाएको अग्रता तोड्दै सिटीका रियाल महरेज र फिल फोडेनले गोल गरेपछि सिटीले दोस्रो पटक पनि २–१ गोलकै जित निकालेको थियो।