|  

भन्सार छली आरोपमा ओम सर्जिकलविरुद्ध एक करोड बिगोसहित मुद्दा दायर

३ वैशाख, काठमाडौँ । भन्सार छली गरेको आरोपमा ओम सर्जिकलविरुद्ध एक करोड रुपैयाँ बिगोसहित मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकले काठमाडौं महानगरपालिका ११, त्रिपुरेश्वरस्थित ओम सर्जिकल कन्सर्न प्रालिका सञ्‍चालक तथा भन्सार प्रतिनिधिसमेत चारजनाले राजस्व चुहावट गरेको अभियोगमा एक करोड ६ लाख ७२ हजार ९ सय ९ रुपैयाँ बिगो दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागका अनुसार प्राप्त सबै प्रमाणबाट ओम सर्जिकल कन्सर्न प्रालिका सञ्‍चालक दलबहादुर भण्डारीसमेत तथा भन्सार प्रतिनिधि रामबाबु जमकटेलले आपसी मिलेमतोमा न्यूनतम मूल्यको गलत कागजात तयार गरिएको थियो । सोहीबमोजिम वास्तविकभन्दा फरक मालवस्तु भन्सार घोषणा गरेको पाइएको  छ । 

साथै उनीहरुले आफूहरुलाई फाइदा र सरकारलाई नोक्सानी पुर्‍याउने मनसायका साथ कार्य गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ को खण्ड (क), (ख), (च) र (छ) बमोजिम राजस्व चुहावट गरेको कसुर स्थापित हुन आएको विभागले जनाएको छ ।

सोही आधारमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, अन्‍तर्गत उनीहरलाई कारबाही गर्न माग गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ ।