|  

बाँके दुर्घटनाः  ज्यान गुमाउने ४ जनाको सनाखत 

४ वैशाख, काठमाडौँ ।  बाँकेमा शुक्रबार बेलुकी भएको सडक दुर्घटनामा परि मृत्यु भएका पाँच जना मध्ये चारको सनाखत भएको छ। 

प्रहरीका अनुसार मृत्यु हुँनेमा कोहलपुर नगरपालिका–१२ निवासी २१ वर्षका टिपरका सह(चालक उदय बाठा, कोहलपुर नगरपालिका –३ निवासी २५ वर्षका टिपर चालक खगेन्द्रबहादुर सुनार, बसमा सवार सुर्खेत साठाखानी–७ निवासी ४० वर्षका जीवनकुमार बिक, झापा मेची नगरपालिका–१० का ४५ वर्षका बस मालिक छत्रबहादुर कटुवाल र नाम ठेगाना नखुलेको अन्दाजी ३१ वर्षकी महिला छन्।

मृतक बिक सेनाका जमदार रहेको बुझिएको छ। सुर्खेतबाट कोहलपुर हुँदै पूर्वतर्फ जादै गरेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नम्बर नचढाइएको (अनटेस्ट) टिपर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।

कोहलपुर चप्परगौडीस्थित नेपाली सेनाको चेकपोष्टदेखि करिव एक किलोमिटर पूर्व जंगलमा उक्त दुर्घटना भएको हो। दुर्घटनामा परी  दुर्घटनामा ३७ जना घाइते भएका छन्। घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् डिएसपी रवीन्द्र खनालले जानकारी दिए।

घाइते भएका सबैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर उपचार भइरहेको डिएसपी खनालले बताए। प्रहरीका अनुसार दुर्घटना बेलुकी ६ बजेतिर भएको हो। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ।