|  

सर्वदलीय बैठकमा उपनिर्वाचन, कोभिड र एमसिसीबारे यसरी भयो छलफल

४ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा नेपाली कांग्रेस, ओली पक्षीय नेकपा (एमाले), महन्थ ठाकुर पक्षीय जसपा, राष्ट्रिय जनामोर्चा र राप्रपाका नेताहरूको सहभागिता थियो। 


बैठकपछि बाहिरिने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा कोभिड, उपनिर्वाचन, एमसिसीलगायतका विषयमा राष्ट्रिय सहमति बनाउनेबारे छलफल गरिएको बताए। 

'बैठकमा कोभिड, उपनिर्वाचन, एमसिसीलगायतका विषयमा राष्ट्रिय सहमति बनाउने विषयमा छलफल भयो,' नेता पौडेलले भने।

कांग्रेसले तत्काल लकडाउन नगर्न सुझाव दिएको उनको भनाइ छ। 'सरकारहरू गम्भीर हुनुपर्‍यो। लकडाउनभन्दा रोकथामतिर जाऔँ। आइसोलेसन सिट बढाउनुपर्छ,' उनले भने, 'लकडाउन ठिक हुँदैन भनेर सुझाव दिएका छौँ।

राष्ट्रिय सभा नबोलाइएको र संसद्‍लाई अपांग बनाइएको विषयमा आफूहरूले प्रश्न गरेको उनको भनाइ छ।