|  

गर्मीले विद्यार्थी बेहोस भएर ढल्न थालेपछि बर्दिबासका विद्यालय बिदा

२१ जेठ, काठमाडौं ।  गर्मी असह्य भएर जनजीवन अस्तव्यस्त भएपछि बर्दिवास नगरपालिकाले स्थानीय बिद्यालयहरुमा दुई दिनका लागि गर्मी विदा दिइएको छ ।

बर्दिवास नगरपालिकाको कार्यालयले जारी गरिएको सूचना अनुसार नगरभरिका सञ्चालित सामुदायिक, निजी तथा धार्मिक बिद्यालयहरुमा बिहीबार र शुक्रबार गरी दुई दिनका लागि विदाको प्रबन्ध गरिएको छ ।अत्याधिक गर्मी र तातो हावा (लु)का कारण विद्यार्थीहरू कक्षा कोठामै बेहोस हुन थालेपछि यहाँ सञ्चालित सम्पूर्ण विद्यालयहरुमा गर्मी विदा मिलाइएको बताइएको छ ।

पछिल्ला केही दिनयता बर्दिबास आसपासका क्षेत्रका तापक्रम ३८ डिग्री सेल्सियस भन्दा माथि पुगेको छ । जसले गर्दा अधिकांश विद्यालय भवनमा जस्तापाताको छाना भएकाले कक्षाकोठाभित्र अत्यधिक गर्मी हुने गरेको छ ।

दिन चर्किँदै जाँदा तातो हावाका कारण विद्यार्थीहरू उकुसमुकुस भई कक्षामै बेहोस हुने खतरा बढ्दै गएको शिक्षकहरूको भनाइ छ ।