२१ जेठ, काठमाडौं । विश्वभरका नागरिकले भिसाविना कति देशमा यात्रा गर्न सक्छन् भन्ने आधारमा तयार गरिने हेन्ली पासपोर्ट इन्डेक्स २०२६ सार्वजनिक भएको छ ।
यस वर्षको प्रतिवेदनमा नेपालको पासपोर्ट र्यांकिङमा सुधार देखिएको छ भने सिंगापुरले पुनः विश्वकै सबैभन्दा शक्तिशाली पासपोर्टको उपाधि कायम राखेको छ । प्रतिवेदनअनुसार नेपाल गत वर्षको १०१ औं स्थानबाट उक्लिएर ९७ औं स्थानमा पुगेको छ । यद्यपि नेपाली नागरिकले भिसाविना प्रवेश पाउने देशको संख्या ३५ मा सीमित रहेको छ। नेपालसँगै उत्तर कोरिया पनि ९७औं स्थानमा रहेको छ ।
हेन्ली पासपोर्ट इन्डेक्स २०२६ अनुसार सिंगापुरका नागरिकले विश्वका १९२ देशमा पूर्वभिसाविना यात्रा गर्न सक्ने भएकाले यसको पासपोर्ट सबैभन्दा शक्तिशाली बनेको छ । दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् । यी देशका नागरिकले १८७ गन्तव्यमा भिसाविना पहुँच पाउँछन्। १८६ स्कोरसहित स्विडेन तेस्रो स्थानमा रहेको छ । भारत यस वर्ष ७८ औं स्थानमा रहेको छ । भारतीय नागरिकले ५७ देशमा भिसाविना प्रवेश पाउन सक्छन्। गत वर्ष भारत ७७ औं स्थानमा थियो । छिमेकी राष्ट्र चीनले उल्लेखनीय सुधार गर्दै ५६औं स्थान हासिल गरेको छ। चिनियाँ नागरिकले ८२ देशमा भिसाविना यात्रा गर्न सक्छन्। गत वर्ष चीन ६४औं स्थानमा रहेको थियो । त्यस्तै, पाकिस्तान ३० भिसा-फ्री स्कोरसहित १०० औं स्थानमा परेको छ ।
गत वर्ष दुई दशकको इतिहासमै पहिलोपटक शीर्ष १० बाट बाहिरिएको अमेरिका यस वर्ष पुनः शीर्ष १० भित्र प्रवेश गर्न सफल भएको छ । धेरै देशहरूले अमेरिकी नागरिकमाथि भिसा नियम कडा बनाएपछि अमेरिका २०२५ मा १२ औं स्थानमा झरेको थियो । तर २०२६ को सूचीमा अमेरिका १७९ भिसा(फ्री स्कोरसहित आइसल्यान्डसँग संयुक्त रूपमा १०औं स्थानमा पुगेको छ । बेलायतले पनि सुधार गर्दै छैटौं स्थान हासिल गरेको छ। गत वर्ष आठौं स्थानमा रहेको बेलायतको पासपोर्ट यस वर्ष १८३ स्कोरसहित माथि उक्लिएको हो । प्रतिवेदनअनुसार अफगानिस्तानको पासपोर्ट विश्वकै सबैभन्दा कमजोर बनेको छ । अफगान नागरिकले केवल २३ देशमा मात्र भिसाविना यात्रा गर्न सक्छन्, जसका कारण अफगानिस्तान १०३ औं स्थानमा रहेको छ । सिरिया २६ स्कोरसहित १०२ औं स्थानमा रहेको छ भने इराक २९ स्कोरसहित १०१ औं स्थानमा परेको छ ।
हेन्ली पासपोर्ट इन्डेक्स विश्वका विभिन्न देशका पासपोर्टको यात्रा स्वतन्त्रता मापन गर्ने चर्चित सूचकाङ्क हो, जसले नागरिकले पूर्वभिसाविना वा आगमनपछि भिसा प्राप्त गरी प्रवेश गर्न सक्ने गन्तव्यहरूको संख्या आधार मानेर र्यांकिङ तयार गर्छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar