|  

टिकटककर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा

२१ जेठ,काठमाडाैं । ललितपुर जिल्ला अदालतले टिकटककर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई थुनामा राखेर मुद्दाको सुनुवाइ अघि बढाउन आदेश दिएको हो। इन्टरपोलको सहयोगमा १७ जेठमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याइएकी अधिकारीमाथि आपराधिक विश्वासघात, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको छ। उनी पछिल्लो समय चीनमा बस्दै आएको बताइन्छ। अनुसन्धानका क्रममा उनीविरुद्ध ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर आरोप देखिएपछि ६ करोड ५२ लाख रुपैयाँभन्दा बढी बिगो कायम गरी मुद्दा अघि बढाइएको छ।

यसअघि एक पीडितको जाहेरीपछि प्रहरी वृत्त सातदोबाटोले अनुसन्धान थालेको थियो। पछि सम्पत्ति शुद्धीकरण विभागको सुझावसमेतका आधारमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।अनुसन्धान र पक्राउ प्रक्रियाबारे उनले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेकी थिइन् भने प्रहरीले भने आरोपलाई आधारहीन भन्दै खण्डन गरेको थियो।