|  

परराष्ट्रमन्त्री शिशिर खनाल भोलिदेखि भारत भ्रमणमा

२१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबारदेखि तीन दिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन् ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै भ्रमणको तालिका सार्वजनिक गरेको हो । भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करको निमन्त्रणामा मन्त्री खनाल २२ देखि २४ जेठसम्म नयाँ दिल्लीमा रहनेछन् । भ्रमणका क्रममा उनले भारतीय समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। भेटमा नेपाल-भारत सम्बन्धका व्यापार, लगानी, ऊर्जा, कनेक्टिभिटी र जनस्तरको सम्बन्धबारे छलफल हुने बताइएको छ ।

मन्त्रालयका अनुसार यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। मन्त्री खनाल २४ जेठमा स्वदेश फर्कने कार्यक्रम छ।