|  

जातीय छुवाछूत लोकतान्त्रिक समाजको बाधक : मन्त्री सीता वादी

२१ जेठ, काठमाडाैं । महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीले जातीय छुवाछूत र भेदभाव लोकतान्त्रिक र उन्नत समाज निर्माणमा बाधक भएको बताएकी छन्।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले दलित समुदायले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरिन्। उनले दलित समुदायका समस्या समाधानका लागि मन्त्रालय र राष्ट्रिय दलित आयोगबीच सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन्। कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले समतामूलक समाज निर्माणका लागि निरन्तर संवाद आवश्यक रहेको बताए भने अन्य वक्ताहरूले पनि छुवाछूत अन्त्यका लागि राज्यका सबै निकाय एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रम २०६३ जेठ २१ गते नेपाललाई छुवाछूतमुक्त राष्ट्र घोषणा गरिएको दिनको स्मरणमा आयोजना गरिएको हो।