|  

देशभर विपद् घटनामा ५ जनाको मृत्यु, ११ घाइते

२१ जेठ, काठमाडाैं । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्जन्य घटनामा पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु र रोल्पामा यी घटनाहरू भएका हुन्। प्राधिकरणका अनुसार सर्पले डसेर रौतहट, बारा र कपिलवस्तुमा एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको छ। त्यस्तै रोल्पाको गङ्गादेव गाउँपालिकामा खहरे भेलले बगाएर दुई बालकको ज्यान गएको हो। मकवानपुर, मोरङ, सिरहा, पर्सा, चितवन, दाङ, पाल्पा र कञ्चनपुरसहितका जिल्लामा भएका अन्य विपद् घटनामा ११ जना घाइते भएका छन्।

प्राधिकरणले यस अवधिमा देशभर २५ वटा विपद् घटना भएको र करिब ६३ लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको जनाएको छ।