|  

दिल्लीमा नेपालको एजेन्डाले पायो प्राथमिकता : रवि लामिछाने

२१ जेठ, काठमाडाैं । रवि लामिछानेले आफ्नो भारत भ्रमण उपलब्धिमूलक रहेको बताउँदै नेपाल-भारत सहकार्यको विषयमा सकारात्मक संकेत प्राप्त भएको बताएका छन्।

बिहीबार नयाँ दिल्लीमा आयोजित प्रवासी नेपालीहरूको कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले विभिन्न भेटवार्ताका क्रममा नेपालको विकास, आर्थिक समृद्धि र द्विपक्षीय सहकार्यका विषयमा भारत पक्षले गम्भीरतापूर्वक चासो दिएको बताए। उनले नेपालसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता प्राप्त भएको उल्लेख गर्दै आफू आशावादी मनस्थितिका साथ स्वदेश फर्किन लागेको बताए। उनका अनुसार भ्रमणका क्रममा नेपालको समृद्धि र विकास यात्रालाई गति दिन सकिने सम्भावित सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो। “नेपालको कुरा ध्यानपूर्वक सुनियो, सहकार्यका सम्भावनाबारे सकारात्मक सन्देश प्राप्त भयो,” उनले भने।

लामिछानेले विगतमा नेपाली नेताहरू राजनीतिक उद्देश्यका लागि दिल्ली आउने गरेको चर्चा गर्दै आफू भने आर्थिक समृद्धि र विकासको नयाँ ढोका खोल्ने उद्देश्यसहित आएको दाबी गरे। नेपाललाई नयाँ गन्तव्यतर्फ अघि बढाउन स्पष्ट योजना र सहकार्यको खाका लिएर आएको उनको भनाइ थियो। पाँचदिने भारत भ्रमणका क्रममा लामिछानेले भारतका विभिन्न राजनीतिक तथा कूटनीतिक व्यक्तित्वसँग भेटवार्ता गरेका थिए। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा अन्य उच्चस्तरीय नेताहरूसँग पनि छलफल गरेको जनाइएको छ। रास्वपा सभापति लामिछाने शुक्रबार नेपाल फर्किने कार्यक्रम रहेको छ।