|  

इरानमाथि आक्रमण नगर्न नेतन्याहूलाई ट्रम्पको चेतावनी

२६ जेठ, काठमाडौं ।  इजरायल र इरानले प्रत्यक्ष आक्रमण रोकेका छन् ।

यद्यपि, इरानले इजरायलले लेबनान तथा अन्य स्थानहरूमा आफ्नो आक्रामक गतिविधि जारी राखेमा पुनः सैन्य कारबाही सुरु हुन सक्ने चेतावनी दिएको छ । इजरायलले बेरुत र इरानका विभिन्न क्षेत्रमा गरेको आक्रमणले अमेरिका–इरानबीच कायम युद्धविरामलाई जोखिममा पारेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई चेतावनी दिएका छन् ।

ट्रम्पले आइतबार साँझ नेतन्याहूसँग टेलिफोन वार्ता गर्दै संयम अपनाउन आग्रह गरेका थिए ।ट्रम्पले एक्सिओससँगको अन्तर्वार्तामा भने, “मैले भनेँ, ‘बीबी, सावधान रहनुहोस्, नत्र तपाईं चाँडै नै एक्लो हुनुहुनेछ ।”

उनले इरानसँग सम्भावित सम्झौताको प्रयास जारी रहेको उल्लेख गर्दै थप आक्रमणहरू अनावश्यक हुन सक्ने बताएका थिए । निरन्तर तनावले इजरायललाई अमेरिकी समर्थन कमजोर हुने अवस्थामा पुर्‍याउन सक्ने चेतावनी पनि दिएका थिए ।