|  

आज रातिदेखि विश्व फुटबलको महाकुम्भ, उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्दै

२८ जेठ, काठमाडौं । आज रातिदेखि अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा इतिहासकै सबैभन्दा ठूलो फुटबल विश्वकप सुरु हुँदैछ ।

नेपाली समयानुसार आज रातिदेखि विश्व फुटबलको महाकुम्भ औपचारिक रूपमा शुरू हुँदै छ ।  पहिलो पटक ४८ टोली सहभागी हुने प्रतियोगितामा १६ रंगशालामा १०४ खेल खेलिनेछन् र यो ३९ दिनसम्म चल्नेछ । उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताका अधिकांश खेल अमेरिका, जबकि केही खेल मेक्सिको र क्यानडामा हुनेछन् । फाइनल न्यू जर्सीस्थित मेटलाइफ रंगशालामा आयोजना हुनेछ ।

विश्वकपमा १,२४८ खेलाडी सहभागी छन्, जसमा ८९१ खेलाडी पहिलो पटक विश्वकप खेल्दै छन् । क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीजस्ता स्टार खेलाडीहरू फेरि आकर्षणको केन्द्रमा रहनेछन् ।