|  

अमेरिका र इरानबीच ऐतिहासिक समझदारीको तयारीः युद्ध अन्त्य गरी हर्मोज खोल्न दुवै पक्ष सहमत

३० जेठ, काठमाडौं । विगत केही समयदेखि प्रत्यक्ष सैन्य युद्धमा होमिएका संयुक्त राज्य अमेरिका र इरान ऐतिहासिक सम्झौताको निकै नजिक पुगेका छन् ।

अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने, रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मोज जलमार्ग पुनः खुला गर्ने र अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने विषयमा सहमति जुटेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । दुवै देशका उच्च अधिकारीहरूले कूटनीतिक प्रयास सकारात्मक दिशामा अघि बढेको र आगामी केही दिनभित्रै समझदारी पत्रमा हस्ताक्षर हुन सक्ने पुष्टि गरेका हुन् ।

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले सरकारी टेलिभिजनमार्फत वार्ता अन्तिम चरणमा पुगेको जानकारी दिँदै भने, ‘हाम्रो वार्ताको अन्तिम चरण पूरा हुनेवित्तिकै यो सम्झौतामा हस्ताक्षर गरी घोषणा गरिनेछ । यो आगामी केही दिनभित्रै हुन सक्छ। म निकै आशावादी छु ।’

यसअघि अमेरिकी राष्ट्रपति डनाल्ड ट्रम्पले इरान युद्ध अन्त्य भएको र सहमतिको निकै नजिक पुगेको घोषणा शुक्रबार नै गरेका थिए । अहिले इरानले पनि त्यसको पुष्टि गरेको हो ।