|  

बीपी राजमार्ग बस दुर्घटना : मृतक आठै जनाको पहिचान खुल्यो, छानबिन समिति गठन

३० जेठ, काठमाडाैं । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ बुच्चाकोटमा भएको बस दुर्घटनामा मृत्यु भएका आठै जनाको पहिचान खुलेको छ।

दुर्घटनामा रोशी गाउँपालिका-६ का मेघबहादुर तामाङ (७३), राजु तामाङ (५५), इन्द्रबहादुर तामाङ (७५), रोशी-७ की फूलमाया तामाङ (३४), माया तामाङ (६०), रोशी-८ की प्यारीमाया तामाङ (६०), दैलेख घर भई नेपाली सेनामा कार्यरत अमलदार बमबहादुर भण्डारी (३०) र सिन्धुलीकी सुमी तामाङ (२२) को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बनेपाबाट रोशी खार्पाचोकतर्फ जाँदै गरेको बस शुक्रबार दिउँसो सेल्फीडाँडाबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको थियो। दुर्घटनामा १६ जना घाइते भएका छन्, जसको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार दुर्घटनास्थलबाट सबै शव निकालिएको छ र आवश्यक कानुनी प्रक्रिया तथा अनुसन्धान अघि बढाइएको छ।

यसैबीच, दुर्घटनाको कारण पत्ता लगाउन नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेका प्रहरी वरिष्ठ उपरीक्षक कमल थापाको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।