|  

भारतीय अवरोधले नेपाली चिया उद्योग संकटमा, इलामका उद्योग १ असारदेखि बन्द हुने

३१ जेठ, काठमाडाैँ । भारतीय बजारतर्फ नेपाली चिया निर्यातमा देखिएको गम्भीर अवरोधका कारण इलामका चिया उद्योगीहरूले उद्योग बन्द गर्ने निर्णय गरेका छन्।

सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले चिया क्षेत्र अभूतपूर्व संकटमा फसेको भन्दै १ असारदेखि उद्योग सञ्चालन रोक्ने घोषणा गरेको हो। भारतीय चिया बोर्डले हालै लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) ले नेपाली चियाको निर्यात प्रक्रियालाई थप जटिल बनाएको उद्योगीहरूको आरोप छ। गुणस्तर परीक्षणका नाममा लामो समयसम्म रिपोर्ट नदिने, परीक्षण प्रक्रियामा पारदर्शिता नहुनु तथा भण्डारण व्यवस्थाको अभावका कारण ठूलो परिमाणमा तयारी चिया बिक्रीविहीन अवस्थामा थन्किएको बताइएको छ।

एसोसिएसनका अध्यक्ष डिल्ली श्रेष्ठका अनुसार हाल करिब १२ लाख किलो तयारी चिया अलपत्र परेको छ। जसमध्ये २ लाख किलोभन्दा बढी चिया भारतीय बजार पुगिसकेपछि पनि गोदाममै रोकिएको छ भने नेपालभित्रका उद्योगहरूमा थप १० लाख किलोभन्दा बढी चिया थन्किएको अवस्था छ।उद्योगीहरूले भारतीय पक्षले लागू गरेका केही प्रावधानलाई अव्यावहारिक र व्यवसायमैत्री नभएको बताएका छन्। परीक्षणका लागि लगिएका नमुनाको नतिजा महिनौँसम्म नआउने र गुणस्तरमा समस्या देखिएमा चियालाई भारतीय गोदाममै नष्ट गर्नुपर्ने व्यवस्था थपिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्। निर्यात प्रक्रिया ठप्प भएपछि उद्योगहरू आर्थिक संकटमा परेका छन्। यसको प्रत्यक्ष असर चिया किसानमा समेत परेको छ। उद्योगीहरूका अनुसार हरियो चियापत्ती खरिदको भुक्तानी गर्नसमेत कठिनाइ भएको छ। ‘वर्तमान परिस्थितिमा उद्योग सञ्चालनलाई निरन्तरता दिन असम्भवजस्तै भएको छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘त्यसैले बाध्य भएर १ असारदेखि सम्पूर्ण उद्योग बन्द गर्ने निर्णय गरिएको हो।’

उद्योग बन्द हुँदा किसान, श्रमिक तथा चिया व्यवसायसँग जोडिएका हजारौँ परिवार प्रभावित हुने सम्भावना छ। एसोसिएसनले समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग तत्काल पहल गर्न आग्रह गर्दै राजनीतिक दल तथा सरोकारवाला निकायहरूलाई समेत ऐक्यबद्धता जनाउन अपिल गरेको छ। भारतीय नीतिगत कडाइका कारण नेपाली चिया उद्योग नै संकटमा पर्ने खतरा बढ्दै गएको उद्योगीहरूको चेतावनी छ।