|  

रास्वपा कैलाली अधिवेशनको निर्वाचन र नतिजा बदर, प्रक्रियागत त्रुटि पुष्टि

३१ जेठ,काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया र त्यसबाट आएको नतिजा बदर गरिएको छ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रक्रियागत त्रुटि र विधानविपरीत गतिविधि भएको निष्कर्ष निकाल्दै निर्वाचन र परिणाम दुवै अमान्य घोषणा गरेको हो। आइतबार जारी विज्ञप्तिमा आयोगले अधिवेशनका क्रममा सम्पन्न निर्वाचनको वैधतामाथि उम्मेदवारहरू तथा पार्टी सदस्यहरूले प्रमाणसहित उजुरी दर्ता गराएको जनाएको छ। प्राप्त उजुरी र संलग्न प्रमाणहरूको प्रारम्भिक अध्ययनबाट निर्वाचन प्रक्रियामा गम्भीर कमजोरी देखिएको आयोगको निष्कर्ष छ। आयोगका अनुसार जिल्ला तहका नेताहरूको असहमति र सुझावलाई बेवास्ता गर्दै विधान तथा कार्यविधिविपरीत ढंगले निर्वाचन सञ्चालन गरिएको पाइएको छ। साथै लोकतान्त्रिक निर्वाचनका आधारभूत विधि, प्रक्रिया र मापदण्डहरू समेत पालना नभएको प्रारम्भिक रूपमा पुष्टि भएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यसै आधारमा आयोगले कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसको नतिजा बदर गर्ने निर्णय गरेको जनाएको छ। आगामी प्रक्रिया सम्बन्धी निर्णय भने पछि सार्वजनिक गरिने अपेक्षा गरिएको छ। गत २५ जेठमा सम्पन्न अधिवेशनबाट सभापतिमा कविन्द्र ठकुल्ला निर्वाचित भएका थिए। उनले ३३५ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी महेशकुमार चौधरीले ३७ र हरि रेग्मीले २२ मत पाएका थिए। निर्वाचन बदर भएसँगै कैलालीमा रास्वपाको जिल्ला नेतृत्व चयन प्रक्रिया पुनः अनिश्चित बनेको छ।