|  

आवासीय चिकित्सकलाई राहत: ३६ घण्टा ड्युटी अन्त्य, अब २४ घण्टापछि छुट्टी

०१ असार, काठमाडाैं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले आवासीय चिकित्सकहरूको ड्युटीसम्बन्धी व्यवस्था संशोधन गर्दै नयाँ कार्य प्रणाली लागू गरेको छ।

प्रतिष्ठानका सहायक डिन प्रा.डा. विकासविक्रम सिंह अधिकारीले सोमबार जारी गरेको परिपत्रअनुसार अब आवासीय चिकित्सकहरूले २४ घण्टा ड्युटी पूरा गरेपछि बिहानको राउण्ड सम्पन्न गरी अनिवार्य रूपमा छुट्टी पाउने व्यवस्था गरिएको छ। यसअघि न्याम्सअन्तर्गतका रेजिडेन्ट चिकित्सकहरूले लगातार ३६ घण्टासम्म ड्युटी गर्नुपर्ने अभ्यास रहेको थियो। यस्तो लामो कार्यसमयका कारण चिकित्सकहरू शारीरिक तथा मानसिक दुवै रूपमा अत्यधिक दबाबमा पर्ने गरेको गुनासो उठ्दै आएको थियो।

नयाँ निर्णयपछि चिकित्सकहरूको कार्यबोझ घट्ने अपेक्षा गरिएको छ। परिपत्रमा उल्लेख छ, “यस प्रतिष्ठानमा अध्ययनरत रेजिडेन्ट चिकित्सकहरूको २४ घण्टा ड्युटीपश्चात बिहानको राउण्ड सम्पन्न भएपछि छुट्टी दिनुहुन अनुरोध गरिन्छ।” यसअघि नेपाल मेडिकल काउन्सिल ले पनि आवासीय चिकित्सकहरूको अत्यधिक कार्यबोझलाई ध्यान दिँदै अनिवार्य विश्राम सुनिश्चित गर्न मेडिकल कलेज, विश्वविद्यालय र सम्बन्धित संस्थाहरुलाई निर्देशन दिएको थियो। नयाँ व्यवस्थासँगै आवासीय चिकित्सकहरूको काम-जीवन सन्तुलन सुधार हुने अपेक्षा गरिएको छ।