|  

ऊर्जा मन्त्रालयमा पारदर्शिता अभियान, अतिरिक्त शुल्कबारे उजुरी गर्न आग्रह

०१ असार, काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले सेवाग्राहीलाई मन्त्रालय तथा मातहतका निकायमा सेवा लिँदा तोकिएको शुल्कभन्दा बढी रकम मागिएमा प्रमाणसहित उजुरी गर्न आग्रह गरेका छन्।

उनले गुनासोका लागि हटलाइन नम्बर ११५१ मार्फत तत्काल जानकारी दिन पनि अनुरोध गरेका छन्।मन्त्री श्रेष्ठका अनुसार पदभार ग्रहणपछि गुनासो सुनुवाइ र शीघ्र समाधानलाई प्राथमिकतामा राखिएको छ। मन्त्रालयले सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जवाफदेही बनाउने अभियान तीव्र बनाएको जनाएको छ। मन्त्रालयको हटलाइनमार्फत चैत १३ यता १३ हजारभन्दा बढी गुनासो सम्बोधन गरिएको दाबी गरिएको छ। विद्युत् अवरोध, ट्रान्सफर्मर समस्या, पोल तथा मिटर अभावजस्ता उजुरी प्रमुख रहेको मन्त्रालयले जनाएको छ।

साथै, सुशासन इकाइ गठन गरी सेवा प्रवाह, कर्मचारीको कार्यसम्पादन र समयसीमा पालनाको नियमित अनुगमन भइरहेको मन्त्रालयले जानकारी दिएको छ।