|  

सात लाख ब्यारेल तेल बोकेको रुसी ट्याङ्कर बेलायतको नियन्त्रणमा

२ असार, काडमाडौं ।  बेलायती सुरक्षाबलले रुसी तेल बोकेको र प्रतिबन्ध उल्लङ्घन गरेको आशंकामा ‘स्मिर्टोस’ नामक तेल ट्याङ्कर नियन्त्रणमा लिएका छन् ।

बेलायती प्रधानमन्त्री किर स्टार्मरले यसलाई युक्रेन युद्धका लागि आर्थिक स्रोत जुटाउने रुसी प्रयासमाथिको ठूलो प्रहार बताएका छन् । करिब सात लाख ब्यारेल रुसी तेल बोकेको उक्त जहाज रुसको उस्त–लुगा बन्दरगाहबाट इजिप्टतर्फ जाँदै थियो ।

बेलायती रक्षा मन्त्रालयका अनुसार रोयल मरिन्स कमान्डो र राष्ट्रिय अपराध एजेन्सीका अधिकारीहरूले विशेष अभियानमार्फत जहाज नियन्त्रणमा लिएका हुन् । कारबाहीपछि प्रतिबन्धसम्बन्धी अपराधको आशंकामा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

जहाजमा रहेका २४ जना जर्जियाली र भारतीय चालकदल सदस्य भने जहाजमै रहेका छन् । छ घण्टा लामो अभियानपछि ट्याङ्करलाई डोर्सेट तट नजिक नियन्त्रणमा राखिएको छ ।

बेलायती अधिकारीहरूले वातावरणीय वा सुरक्षा जोखिमबारे निगरानी जारी राख्ने बताएका छन् । बेलायतले प्रत्यक्ष रूपमा रुसी छद्म तेल ट्याङकरसम्बन्धित जहाजभित्र घुसेर जहाज नियन्त्रणमा लिएको यो पहिलो घटना हो ।