०२ असार, काठमाडाैं । नेकपा एमालेका सांसद पुष्पराज कँडेलले अर्थ मन्त्रालयको बजेट विनियोजन र खर्च गर्ने क्षमतामाथि गम्भीर प्रश्न उठाएका छन् ।
प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि धारणा राख्दै उनले अर्थ मन्त्रालयले बजेट थुपारेर राख्ने तर खर्च गर्न नसक्ने प्रवृत्ति देखाएको भन्दै विनियोजन प्रणालीको पुनरावलोकन गर्न माग गरे । सांसद कँडेलले अर्थ मन्त्रालयलाई सुपर मिनिस्ट्रीको संज्ञा दिँदै सबै मन्त्रालयको स्रोत र साधनको साँचो यसैको हातमा भए पनि कार्यसम्पादन भने फितलो रहेको टिप्पणी गरे । सांसद कँडेलले अर्थ मन्त्रालयमार्फत खर्च हुने गरी आगामी आर्थिक वर्षका लागि ८ खर्ब ३९ अर्ब २९ करोड रुपैयाँ विनियोजन गरिएको तथ्य प्रश्तुत गर्दै विगतका तथ्याङ्कले खर्च गर्ने क्षमता न्युन देखाएको बताए ।
उनकाअनुसार आर्थिक वर्ष २०८१/८२ मा ७७ प्रतिशत र २०८२/८३ को चैत मसान्तसम्म ५१ प्रतिशत मात्र खर्च भएको छ । विशेषगरी अर्थ विविध शीर्षकमा ९० अर्ब रुपैयाँ विनियोजन गरिनु तर विगतमा उक्त शीर्षकमा विनियोजित ५३ अर्बमध्ये ८ करोड ७७ लाख (०.२ प्रतिशत) मात्र खर्च हुनुले बजेट थुपारेर राख्ने नियत देखिएको उनको जिकिर छ ।उनले भने,‘देशको अर्थतन्त्रलाई ७ प्रतिशतको आर्थिक वृद्धिमा लैजाने र मुद्रास्फीतिलाई ६ प्रतिशतमा नियन्त्रण गर्ने लक्ष्य राखे पनि अर्थ मन्त्रालयले आफूलाई सोहीअनुसार परिचालन गर्न सकेको छैन ।’
पुँजीगत खर्चको अवस्था निराशाजनक रहेको उल्लेख गर्दै कँडेलले चालू वर्षको अर्धवार्षिक समीक्षासम्म पुँजीगत खर्च १२ प्रतिशत र कुल खर्च ३५ प्रतिशत मात्र हुनुले मन्त्रालयको कार्यक्षमतामाथि प्रश्न उठाएको बताए । ‘खर्च गर्न नसक्ने भए पैसा किन थुपारेर राख्ने ?’ भन्दै उनले विज्ञ अर्थमन्त्री आएपनि विनियोजनको शैलीमा सुधार नदेखिएको गुनासो गरे । सांसद कँडेलले विनियोजन विधेयकमा रहेको पुँजीगत बजेटबाट चालु खर्च (सावाँ–ब्याज भुक्तानी) मा रकम लैजान पाउने प्रावधानप्रति पनि आपत्ति जए ।
राष्ट्रिय गौरवका आयोजनाको बजेट कटौती गर्न नपाइने विगतको अभ्यास यस पटक नदेखिएको उनको दाबी छ । पूर्वाधार विकासका लागि राष्ट्रिय गौरवका आयोजना र रणनीतिक राजमार्गहरूमा न्यून बजेट विनियोजन गरिएकोमा उनले चिन्ता व्यक्त गरे। कर्णाली राजमार्गको बजेट अघिल्लो वर्षको तुलनामा २५ करोड घटाएर १ अर्बमा झारिएको, काठमाडौं-तराई फास्ट ट्र्याकका लागि माग गरिएको ५७ अर्बको सट्टा १७ अर्ब मात्र दिइएको र पुष्पलाल मध्यपहाडी राजमार्गमा जम्मा २ अर्ब रुपैयाँ छुट्याइएको भन्दै उनले पूर्वाधार विकासको गति सुस्त हुने बताए ।
राष्ट्रिय योजना आयोगले तयार पार्ने मध्यमकालीन खर्च संरचना र अर्थ मन्त्रालयको बजेट विनियोजनबीच तादाम्य नमिलेको उल्लेख गर्दै उनले पूर्वाधार क्षेत्रको बजेट वृद्धि गर्न र विनियोजन प्रक्रियालाई वस्तुपरक बनाउन सरकारसँग आग्रह गरे । उनले योजना कार्यान्वयनभन्दा पनि कर्मचारीको तलब व्यवस्थापनमा मात्र अर्थ मन्त्रालय रुमल्लिएको आरोप समेत लगाए ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar