|  

भारत सरकारको सहयोगमा मुस्ताङमा गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन

०२ असार, काठमाडाैं । भारत सरकारको आर्थिक सहयोगमा गण्डकी प्रदेशको मुस्ताङ जिल्लास्थित लोमन्थाङ गाउँपालिका-१ मा निर्माण गरिएको लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयको नयाँ छात्रावास भवन उद्घाटन गरिएको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा उक्त भवनको उद्घाटन गरेका हुन्। उच्च प्रभाव सामुदायिक विकास परियोजना (HICDP) अन्तर्गत निर्माण गरिएको दुई तले छात्रावास भवनमा चारवटा ब्लक तथा अन्य आवश्यक संरचनाहरू समावेश छन्। परियोजना लोमन्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिएको थियो। लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयले स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। विद्यालयले बौद्ध शिक्षासँगै नेपाल सरकारको शैक्षिक प्रणालीअनुसारको पाठ्यक्रमसमेत सञ्चालन गर्दै आएको छ। उद्घाटन कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले परियोजनासँग सम्बन्धित सबै सरोकारवालालाई बधाई दिँदै नेपाल सरकार र नेपाली जनतासँग मिलेर साझा विकास र समृद्धिका लागि भारत सरकार प्रतिबद्ध रहेको बताए।

कार्यक्रममा लोमन्थाङ गाउँपालिका, विद्यालय व्यवस्थापन तथा अन्य सरोकारवालाले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ छात्रावास भवनले विद्यालयको आवासीय सुविधा र समग्र शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। भारत सरकारले उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम अन्तर्गत हालसम्म नेपालका सातै प्रदेशका ७४ जिल्लामा करिब ६०० परियोजना सञ्चालन गरिसकेको जनाएको छ। तीमध्ये गण्डकी प्रदेशमा ६३ र मुस्ताङ जिल्लामा मात्र १८ परियोजना रहेका छन्।

यसैगरी भारत सरकारले विगतका वर्षहरूमा मुस्ताङ जिल्लाका विभिन्न संस्थालाई ११ एम्बुलेन्स र ६ विद्यालय बस उपलब्ध गराएको छ। गण्डकी प्रदेशभर स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत संस्थाहरूलाई कुल १२६ एम्बुलेन्स र ५२ विद्यालय बस प्रदान गरिएको दूतावासले जनाएको छ।भारतीय दूतावासका अनुसार नेपाल र भारतबीचको बहुआयामिक सहकार्यलाई थप सुदृढ बनाउन तथा प्राथमिकताका क्षेत्रमा पूर्वाधार विकासमार्फत नेपालको विकास र समृद्धिमा योगदान पुर्‍याउन यस्ता परियोजनाहरूले महत्वपूर्ण भूमिका खेलिरहेका छन्।